के भुवन र शिव राजेश हमाललाई ‘महानायक’ मान्न तयार छैनन् ?

समाचार

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई यो उपाधि चाहिएको छैन भन्न सकेका छन्, न त केही चलचित्रकर्मी उनलाई ‘महानायक’ मान्न नै तयार छन् ।

यसैले, पनि हमाललाई दिइएको उपाधि बारम्बार विवादमा छ र यो विवाद समय–समयमा बल्झिने गर्दछ । गतबर्ष निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दा यो बिषय विवादित बन्यो । दीपाश्रीको तर्कमा सहमत हुने थोरै र उनलाई गाली गर्ने धेरै देखिए ।

यसपटक भने नायकद्धय भुवन केसी र शिव श्रेष्ठले नै ‘महानायक’को उपाधिमाथि प्रश्न उठाए । उसो त, भुवनले बेला–बेलामा यो बिषय उठान नगरेका होइनन् । भुवनलाई बारम्बार साथ दिएर यो बिबादमा तर्क पेश गर्ने चलचित्रकर्मीमा पर्छन्, निर्देशक शोभित बस्नेत । शोभितको बोली यसपटक पनि रोकिएन । तर, घुमाउरो शैलीमा यसपटक शिव श्रेष्ठले पनि ‘महानायक’ उपाधिको बिरोध गरे ।

भुवनले शिवलाई ‘महानायक’ भनेर सम्बोधन गर्दा शिवले पनि भुवन केसीको योगदानको चर्चा गरे । भुवन केसी नभएको भए चलचित्र क्षेत्र जमानामा बन्दै भैसक्ने तर्क शिवले गरे ।

यसलाई धेरैले शिव र भुवनले ‘महानायक’को उपाधिमाथि दाबी गरेको रुपमा वुझेका छन् भने कपितयले यी दुई नायकले समकालिन नायक राजेश हमाललाई ‘महानायक’ मान्न तयार नभएको तर्क पेश गरेका छन् ।

यस बिषयमा अनलाइनखबरसँग कुरा गर्दै भुवन केसीले भने–‘हामीले न त यो उपाधिमा दाबी गर्न खोजेको हो न त कसैको नामको अगाडि झुन्ड्याइएको यो शब्दमा आपत्ती नै जनाएको हो । तर, चलचित्र क्षेत्रलाई यो स्थानसम्म ल्याउनका लागि एक जना मात्र व्यक्तिको भूमिका छैन । यसका पछाडि थुप्रै हातहरु सक्रिय छन् । यसैले, एक जना व्यक्तिलाई मात्र यो उपाधि दिदा अन्य व्यक्तिहरुमाथि अन्याय हुन्छ भन्ने मेरो तर्क हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *