याङ्ग्री र लार्केको पानी ल्याउने काम पनि तत्काल अघि बढाइने

समाचार

काम सुरु भएको १२ वर्षपछि शनिबार मेलम्चीको पानी उपत्यकामा झारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने कामको उद्घाटन गरे । अब केही दिन सुरुङ परीक्षणका लागि पानी सिधै वाग्मती नदीमा पठाइनेछ ।
उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले मुलुक सुरुङ युगमा प्रवेश गरेको उल्लेख गर्दै सुरुङबाट रेल, पानी ल्याउने र सुरुङमार्ग यातायात सञ्चालन गरिने दाबी गरे । ‘विकासको गतिलाई कसैले रोक्न सक्दैन,’ उनले भने, ‘मेलम्चीको पानी अब केही दिनमा घरघरमा पुग्छ, विकास र समृृद्धिको उदाहरण यही नै हो ।’ याङ्ग्री र लार्केको पानी ल्याउने काम पनि तत्काल अघि बढाइने ओलीले बताए ।
मेलम्ची खानेपानी आयोजनाको काम २०६५ मा सुरु भएको थियो । फागुन ११ मा अम्बाथानस्थित हेडवर्क्सबाट २६.५ किमि लामो सुरुङमा पानी प्रवेश गराइएको थियो । सुरुङ परीक्षण सम्पन्न भइसकेको मेलम्ची खानेपानी आयोजनका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए । ‘सबै परीक्षण भइसकेको छ,’ उनले भने, ‘तीन वटै अडिटमा सामान्य चुहावटबाहेक ठूलो समस्या छैन । विभिन्न खण्डमा देखिएका समस्या समाधान गर्छौं ।’ सुन्दरीजलदेखि सिन्धु अडिटसम्मको सुरुङको लम्बाइ करिब साढे नौ किमि छ । तीन वटा अडिटमा सुन्दरीजल–सिन्धु (साढे ९ किमि), सिन्धु–ग्याल्थुम (८ किमि) र ग्यालथुम–अम्बाथान अडिट (९ किमि) छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *