दाङकाे एउटा सडक टिकटकमा भाइरल भएपछि भिडियाे बनाउनेहरुकाे भीड

समाचार

टिकटकमा भाइरल भएपछि दाङकाे एउटा सडकमा अहिले टिकटक बनाउनेहरुकाे लाइन लाग्न थालेकाे छ । दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरदेखि रोल्पाको होलेरी जोड्ने सडक करिब एक सातायता सामाजिक सञ्जाल टिकटकमा निकै भाइरल भइरहेको हो ।

अहिले याे सडक अवलोकन गर्न दैनिक सयौँ संख्यामा मानिसहरू आउने गरेका छन् । घोराही-१०, नारायणपुरदेखि वडा नं. ११ हुँदै १२ को सिमलकुटीसम्म करिब ९ किलोमिटर सडक कालोपत्रे भएको छ। उक्त सडक अन्तर्गत घोराही-११, झुम्केटाडी निकै भाइरल भइरहेको छ।

त्यहाँ भिडियो बनाउनको लागि जिल्लाका विभिन्न ठाउँबाट टिकटक प्रयोगकर्ताहरू पुग्ने गरेका छन्। सामाजिक सञ्‍जाल टिकटकमा भिडियोदेखि पछि आफू पनि हेर्न आएको त्यहाँ पुग्नेहरुले बताउने गरेका छन् ।

स्थानीय डिल्ली बहादुर वलीका अनुसार करिब एक हप्तादेखि उक्त ठाउँमा धेरै चहल पहल बढ्दै गइरहेको छ । उनले सडक कालो पत्रे भएको र सर्प घुमेको जस्तै भएकाले टिकटक बनाउनेहरू गर्दा भाइरल भएको बताए ।

साथै, अन्य दिनमा भन्दा विदाको दिन धेरै युवा/युवतीहरू भिडियो बनाउने फोटो खिच्न आउने गरेको समेत उनले बताए। ‘यहाँ हेर्नको लागि अरू कुनै ठाउँहरू छैन। यो सर्प जस्तै घुमेको सडक मात्र हो,’  उनले भने, ‘एक हप्ताजति भयो दैनिक सयौँको संख्यामा युवा/युवतीहरू आउने गर्दछन्। हामीलाई पनि अचम्म लागेको छ। तर, यहाँ दुर्घटनाको जोखिम बढिरहेको छ। ​टिप्परहरू पनि यहि बाटो हिँडेका हुन्छन्। सडकमा टिकटक भिडियो बनाउनेको अत्याधिक भीडभाड हुन्छ।’

यो सडक निर्माण सम्पन्न भएको करिब ३ महिना जति भएको उनले बताए । उक्त सडकमा टिकटक भिडियो बनाउने फोटोहरू खिच्नेहरू मात्र खुशी भएका छैन् । त्यो चहल पहल देख्दा स्थानीयहरू पनि खुशी भएका छन् । सडकले गर्दा आफूहरूको ठाउँमा यस्तो चहलपहल भएको भन्दै स्थानीय एकराज डाँगीले खुशी व्यक्त गरे।

के भन्छन् टिकटक बनाउनेहरु

सामाजिक सञ्‍जाल टिकटकमा भिडियोदेखि पछि आफू पनि हेर्न आएको तुलसीपुरकी कल्पना डाँगीले बताइन् । ‘टिकटकमा निकै भाइरल भएको थियो, कस्तो रहेछ भनेर हेर्न आएको हौँ,’ उनले भनिन्, ‘अन्य दिनभन्दा विदाको दिन निकै भीडभाड हुँदोरहेछ, यहाँ अरू कुनै हेर्ने चिज त छैन, सबै सडकमा फोटो खिच्नेदेखि भिडियो बनाउन आउने रहेछन्। तर, उक्त क्षेत्रमा दुर्घटनाको जोखिम बढी छ। धेरै भीडभाड र सवारी साधनको चाप पनि बढी हुँदो रहेछ।’

त्यस्तै, शान्तिनगर-२, अमुवाबाट भाइरल सडक हेर्न आएका गणेश खत्रीले पनि सामाजिक सञ्जालबाट आफूले थाहा पाएको बताए। उनले विदाको दिन भएकाले कस्तो रहेछ भनेर हेर्न आएको समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *