बरु अर्को पार्टी खोले हुन्छ, समानान्तर गतिविधि गर्न पाइँदैन’

समाचार

१८ चैत, काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिए । उनले एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन आग्रह गरे ।

नेकपा एमालेको नाममा कुनै पनि समानान्तर गतिविधि गर्न मिल्दैन । त्यो भनेको घोषित रुपमा पार्टीलाई विग्रहमा पुर्याउने, पार्टीलाई विखण्डित गर्ने, पार्टीलाई विभाजित गर्ने कुरा हो’ परराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले भने ।

उनले अघि भने, ‘मलाई नेकपा एमाले मन पर्दैन भने अर्कै पार्टी खोल्छु, या देशमा विद्यमान कुनै पार्टीसंग जोडिन्छु भन्न पाइन्छ, नेपालको संविधानले हामीलाई त्यो छनोटको स्वतन्त्रता दिएको छ । विचारको छनोटको, समर्थनको छनोटको स्वतन्त्रता दिएको छ ।’

एमालेको माधवकुमार नेपाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला उनले कारवाहीको चेतावनी दिएका हुन् ।

एमालेभित्र बसेर एमालेलाई कमजोर बनाउने गतिविधि गरे कारबाही हुने ज्ञवालीले चेतावनी दिए । ‘घर त्यहाँ हुन्छ जहाँ मन बस्छ भन्छ नि । मन बस्ने ठाउँमा नै संगठनको गतिविधि गर्ने हो’ ज्ञवाली भन्छन्, ‘एमालेभित्र बसेर एमालेलाई कमजोर बनाउने काम गर्न मिल्दैन । त्यो कारबाहीको विषय हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *