हजुर लाई गाउँ मन पर्छ कि सहर भोट गर्नुहोस गाउ (A) or शहर (B)

समाचार

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्याय घरबाट बाहिर ननिस्किएको दुई हप्ताभन्दा बढी भयो । त्यसअघि गाउँमा घुमेर खैखबर लिने र दौँतरी तथा छिमेकीहरुसँग गफिएर समय व्यतित गर्ने गरेका उपाध्यायलाई अहिले चौबीसै घण्टा घरभित्र सीमित भएर बस्नु पर्दा निकै सकस भएको छ ।

सामाजिक र राजनीतिक काममा निकै व्यस्त रहने गर्नुभएका नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मीनबहादुर कार्की पनि एकान्तवास बसेका ठ्याक्कै १० दिन भयो । कोरोनाको लक्षण देखिएपछि गत वैशाख २४ गतेदेखि आफ्नै घरमा एकान्तबास बस्नुभएका क्या कार्कीको स्वाब परीक्षणको रिपोर्ट त नेगेटिभ आयो तर राजनीतिक र सामाजिक काममा सरिक हुने अवस्था भने रहेन ।उपाध्याय र कार्की मात्रै होइन अहिले म्याग्दीका प्रायः सबै मानिस घरभित्र नै छन् । दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट जोगिन लामो समयसम्म घरभित्र नै सीमित रहनुपर्दा एकाकी मनस्थिति बनेको धेरैको भनाइ छ ।

“आफ्नै गाउँ टोल नै बिरानो लाग्न थाल्यो, वल्लो पल्लो घरमा रहेका दाजुभाइ, छरछिमेकीको हाल खबर के छ भन्ने बुझ्न पनि फोन गर्नुपर्ने अवस्था आयो”, बगरफाँटका ६५ वर्षीय पदमपाणि शर्माले भन्नुभयो, “बाबु बाजेको पालामा पनि नसुनिएको र आफ्नो बूढेसकालमा पहिलो पटक भोग्नुपरेको यो परिस्थितिको अन्त्य कहिले हुने होला खै ?”

गाउँले जीवनको मौलिकता भनेकै अर्म–पर्म, सरसापटी, अ‍ैँचोपैँचो र झाराश्रमदान हो । प्रत्यक्षरूपमा भेट भएर सुखदुःखका कुरा गर्ने, साह्रोगाह्रो पर्दा सरसहयोग गर्ने, परालबाट बुनेका गुन्द्रीमा बसेर गफिँदै चिया पिउने, जाडोमा पहार ताप्दै र गर्मीमा चौतारी वा शीतल ठाउँमा बसेर घरव्यवहार, छोराछोरीका कुरादेखि लिएर राजनीति हुँदै देशविदेशका विषयमा समेत छलफल र कुराकानी गर्ने ग्रामीण जीवनको विशेषतामय सौन्दर्य अहिले खोसिएको स्थानीय बूढापाकाहरु बताउँछन् ।

अहिलेको अवस्था वाध्यात्मक भएको र आफ्नै सुरक्षाका लागि यो सकस सहनुपरेको पनि उनीहरुलाई राम्रैसँग थाहा छ । “आफ्नै सुरक्षाका लागि हो, कोरोनाको औषधि भने पनि उपचार भने पनि यही सम्पर्कविहीन पद्धति रहेछ, त्यसैले पट्यार लागे पनि, अत्यास लागे पनि सुरक्षित त रहनु नै प¥यो”, स्थानीयवासी खड्गबहादुर थापाले भन्नुभयो, “घरमा बस्दाबस्दा पट्यार त लाग्छ नि, तर के गर्नु यो बाहेक सुरक्षित रहने अर्को उपाय पनि त केही छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *