यी हुन् ७ मन्त्री हराउने २५ वर्षे अधिवक्ता, २ महिना अघि मात्रै पाएका थिए लाइसेन्स

समाचार

सिन्धुपाल्चोकका विराज थापाले २ महिनाअघि गएको चैत महिनामा मात्रै अधिवक्ताको लाइसेन्स पाएका थिए । त्रिभूवन विश्वविद्यालयबाट ५ बर्षे बिए एलएलबी कोर्ष पूरा गरेका थापाले आफ्नो पहिलो मुद्धा नै सरकारविरुद्ध हालेका थिए । रिट दायर गरेको दोश्रो दिननै मुद्दा जितेपछि उनी उत्साहित बनेका छन् ।

कुरा गर्दै उनले भने– ‘संविधान र कानुन रक्षाका लागि मैले सरकारको असंवैधानिक कदमविरुद्ध मुद्दा हालेको थिएँ । सरकारको गैरसंवैधानिक कामलाई सर्वोच्चले संवैधानिक बनाइदिएको छ । आज सर्वोच्च अदालतले दिएको आदेशबाट विधिको शासन कानुनी शासनको प्रत्याभूति भएको महशुस गरेको छु ।’उनले आफू अधिवक्ता भएपछि पहिलो पटक दायर गरेको मुद्दा जित्दा यो क्षेत्रमा अघि बढ्न थप प्रेरणा र जिम्मेवारी बढेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिले देखिनै गैर संवैधानिक काम गर्दै आएकोले यो मुद्दा आफूले जित्नेमा आफू निश्चिन्त भएको उल्लेख गरे ।

उनले भने–‘प्रधानमन्त्रीले संविधानमाथि बारम्बार प्रहार गरेको हुँदा कानुनको विद्यार्थीको हिसावले सबै टुलुटुलु हेरेर बस्ने अवस्था थिएन । मैले आफ्नो स्वविवेक प्रयोग गरेर नै मुद्दा दायर गरेको हुँ । सर्वोच्चले मेरो पक्षमा फैसला गर्छ भन्नेमा मलाई विश्वास थियो । स्वभाविक रुपमा आफूले पहिलो पटक दायर गरेको मुद्दा जितेपछि यसले मेरो जीवनमा सकारात्मक प्रभाव पारेको छ । यसले मलाई अझै गम्भीरता दिएको छ भने थप आत्मविश्वास पैदा गरेको छ । अझै बढी मेहनत गर्नुपर्छ भन्ने हौसला दिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *