राजनीतिबाट सन्यास लिने बादलको घोषणा !

समाचार

८ जेठ, काठमाडौं । राम बहादुर थापा ‘बादल’ अब आफु राजनीतिबाट सन्यास लिने मुडमा पुगेको बताएका छन् ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न शनिवार बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठकमा बादलले यस्तो बताएका हुन् । एक नेताका अनुसार उनले भनेका छन्, ‘मलाई दिक्क लाग्न थालिसक्यो, राजनीतिबाट टाढा रहौं जस्तो, सन्यास लिउँ जस्तो लाग्न थालेको छ कमरेडहरु ।’

ती नेता भन्छन्, ‘बादल कमरेड निराश देखिनुभएको छ ।’

सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलापछि नेकपा एमाले प्रवेश गरेका निवर्तमान गृहमन्त्री ‘बादल’ बागमति प्रदेशमा भएको राष्ट्रिय सभाको उपचुनावमा पराजित भए ।

जेठ ६ गते बागमती प्रदेशमा राष्ट्रिय सभाको सदस्यका लागि भएको निर्वाचनमा बादल राष्ट्रियसभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भएका हुन् । डा. देवकोटालाई नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूह, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी समर्थन रहेको थियो ।

जेठ ६ गते नै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सांसद नरहेका बादलसहित ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको थियो ।

जबराको एकल इजलासले संसद सदस्य नरहेका गृहमन्त्री बादल लगायत ७ जना मन्त्रीहरूलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ । त्यसपछि बादल अधिकार बिहिन जस्तो भएका छन् । यसकारण पनि बादल निराश देखिएको हुन सक्ने ति नेताले बताए ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते चुनावको मिति घोषणा गरेकी छन् । यो निर्णयको एमालेकै माधव नेपाल पक्षसहित विपक्षी गठबन्धनका दलहरुले विरोध गर्दै आएका छन् ।

यहि विषयमा केन्द्रीत रहेर छलफल गर्न शनिवार एमालेको स्थायी कमिटी बैठक बोलाइएको छ । यहि बैठकमा बादल निराश देखिएको ति नेताले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *