१६ खर्ब हाराहारीको बजेट ल्याइँदै, तलब र वृद्ध भत्ता बढ्ने

समाचार

अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ । यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले चालु आर्थिक वर्षको भन्दा बजेट वृद्धि हुन लागेको हो । गत वर्षको हाराहारीमा नै सामाजिक सुरक्षा भत्ता दिए पनि सामाजिक सुरक्षमा नै थप १३ प्रतिशत लाग्ने आंकलन अर्थ मन्त्रालयको छ ।

सरकारले चालुआर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड विनियोजन गरेकोमा मध्यावधि समीक्षा गरी १३ खर्ब ४४ खर्ब ६८ करोड बनाएको थियो । आर्थिक वर्ष २०७६/७७ मा १५ खर्ब ३२ अर्ब ९६करोडको बजेट अनुमान गरिएकोमा यथार्थ रुपमा १० खर्ब ९१ अर्ब मात्र खर्च गर्न सकेको थियो ।

यति नै आकारको बजेट हुने औपचारिक खाका तयार नभए पनि अर्थ मन्त्रालयले १६ खर्ब ५ अर्ब जतिको बनाउने तयारी थालेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।

राष्ट्रिय योजना आयोगले तयार गरेको तीनवर्षे मध्यमकालीन बजेट अनुमान तथा प्रक्षेपणअनुसार आगामी आवमा १६ खर्ब ९७ अर्ब ७५ करोड रुपैयाँको बजेट तयार गर्नुपर्नेछ । प्रक्षेपणअनुसार चालू खर्च १० खर्ब, पुँजीगत खर्च ४ खर्ब ९२ अर्ब र वित्तीय व्यवस्था २ खर्ब रुपैयाँको हुने अनुमान छ । यद्यपि बजेट महाशाखा आयोगको प्रक्षेपण अनुरुप जान नसक्ने बताउँदै आएको छ ।

चालु आर्थिक वर्षमा पनि सरकारले संशोधित बजेट खर्च गर्न सक्ने अवस्था छैन । वैशाखदेखि तातेर विकास खर्च गर्ने प्रवृत्ति भएको अवस्थामा यसपालि कोरोनाको दोस्रो लहर जेठसम्म नै लम्बिने सम्भावना रहेकाले पुँजीगत खर्च गर्न सक्ने अवस्था सरकारको नरहेको अर्थविदहरुको ठम्याइ छ ।

विनियोजित खर्च गर्न नसक्ने अवस्थामा नरहेको सरकारले आगामी बजेट भने पपुलिस्ट बनाउने गरी कार्य थालेको छ । मुलुकको आर्थिक अवस्था र अर्थतन्त्रको वास्तविक स्वरुपलाइ नहेरी जनतालाइ खुशी पार्ने गरी बजेट वितरण गर्ने बजेटलाई सामान्य रुपमा पपुलिस्ट बजेट भन्ने प्रचलन रहेको छ ।

आगामी आर्थिक वर्षको मंसिरमा संघीय संसदको निर्वाचन र फागुनमा स्थानीय तहको निर्वाचन गर्ने योजनामा रहेको सरकारले आगामी निर्वाचनमा जनताको भावना जित्न भए पनि पपुलिस्ट बजेट ल्याउने आशंका अर्थविदहरुको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको कहरमा मजदुरलाई राहत नदिए पनि आगामी बजेटमा तलव वृद्धि गरि दिने र सामाजिक सुरक्षा भत्ता वढाउने प्रतिवद्धता जनाइ सकेका छन् ।

उनले सरकारी कर्मचारीको तलबसुविधा थप्ने संकेत दिइसकेका छन्। चालू आवको बजेट कोरोना महामारीकै बीचमा आएकाले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्न सकेको थिएन । कर्मचारीको बजेट २–२ वर्षमा वृद्धि गर्ने परिपाटी रहेकाले यसपालि तलव वृद्धि गर्नुपर्ने दबाब अर्थ मन्त्रालयलाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *